काठमाडौं । नेपालका प्रथम शहिद लखन थापा मगरको १४९औँ स्मृति दिवसको अवसरमा ‘प्रथम शहिद लखन थापा मगर स्मृति खुल्ला दौड प्रतियोगिता–२०८२’ आयोजना गरिने भएको छ। प्रतियोगिता फागुन २ गते शनिबार बिहान ६ बजे काठमाडौंको शहिद गेटबाट सुरु हुने आयोजक नेपाली कल्चर मिडिया प्रालिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
लखन थापा मगरको बलिदान, देशप्रेम र क्रान्तिकारी चेतनाको सम्मान गर्दै युवापुस्तामा राष्ट्रिय इतिहास, स्वास्थ्य, खेलकुद र सांस्कृतिक चेतना प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। प्रतियोगिता नेपाली कल्चर मिडिया प्रालिको आयोजना, नेपाल मगर संघ केन्द्रीय समितिको संरक्षकत्व तथा प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको संयोजनमा हुन लागेको हो।
आयोजक संयोजक रक्षबहादुर रैकामगरका अनुसार प्रतियोगिता १० किलोमिटर दूरीको हुनेछ र एक हजारभन्दा बढी धावक–धाविकाको सहभागिता रहने अपेक्षा गरिएको छ। महिला र पुरुष विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइनेछ। प्रत्येक विधामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
दौड शहिद गेटबाट सुरु भई जमल, लैनचौर, नारायणगोपाल चोक, गोल्फुटार, बुढानिलकण्ठ, चपलीघुम्ती हुँदै तल्लो पासीकोटस्थित श्रीराम स्कुलमार्फत नेपाली कल्चर मिडिया हाउसमा पुगेर समापन हुनेछ।
कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साफ) मा लगातार चार पटक स्वर्ण पदक विजेता तथा एसियाली खेलकुदमा सहभागिता जनाउने पहिलो नेपाली एथलेटमध्येका एक वैकुण्ठ मानन्धर लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धावकहरूको उपस्थिति रहने जनाइएको छ।
वि.सं. १९३३ फागुन २ गते राणा शासक जंगबहादुरको आदेशमा झुन्ड्याइएका लखन थापा मगरले वि.सं. १९२७ देखि १९३३ सम्म राणा शासनविरुद्ध जनविद्रोहको नेतृत्व गरेका थिए। नेपाल सरकारले उनलाई वि.सं. २०७२ असोज ३ गते नेपालको प्रथम शहिद घोषणा गरेको थियो।
यसै अवसरमा फागुन १३ गते दिउँसो १ बजे नाचघरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ। सांस्कृतिक कार्यक्रमबाट संकलित सहयोग प्रथम शहिद लखन थापा मगर स्मृति भवन निर्माणमा उपयोग गरिने जानकारी दिइएको छ।