काठमाडौँ । NIC Asia Capital Limited र Hotel Eastern Nepal Limited बीच सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।
एनआईसी एशिया क्यापिटलले आफ्नो “SME to IPO” सेवा अन्तर्गत विभिन्न क्षेत्रका कम्पनीहरूलाई स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। सोही सेवा अन्तर्गत मेचिनगर–१०, झापामा कारोवार कार्यालय रहेको होटल ईष्टर्न नेपाल लिमिटेडको प्रबन्धपत्रमा व्यवस्था भएबमोजिम, प्रचलित कानुनअनुसार भविष्यमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्न क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो।
होटल ईष्टर्न नेपाल मेचिनगर–१०, झापामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको प्रस्तावित पाँचतारे होटल हो। होटल सञ्चालनका लागि विश्वविख्यात ब्रान्ड Holiday Inn Express & Suites सँग व्यवस्थापकीय सम्झौता सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। उक्त ब्रान्ड InterContinental Hotels Group (IHG) अन्तर्गत सञ्चालनमा रहेको छ। सम्झौताअनुसार होटल सञ्चालन, व्यवस्थापन तथा व्यवसाय विस्तारमा ब्रान्डको प्रत्यक्ष सहभागिता रहनेछ।
निर्माणको अन्तिम चरणमा रहेको होटल ईष्टर्न नेपालले २०८३ साल जेठभित्र ‘सफ्ट ओपनिङ’ गर्ने लक्ष्य लिएको जनाएको छ। सञ्चालनमा आएपछि होटलले क्यासिनो, डेडिकेटेड हाई–एन्ड गेमिङ तथा इन्टरटेनमेन्ट सुविधा, रूफटप स्विमिङ पूल, कन्फरेन्स तथा बैंक्वेट हल, मल्टिपल डाइनिङ आउटलेट्स, रूफटप रेस्टुरेन्ट, जकुजी, स्पा तथा पूर्ण सुसज्जित हेल्थ क्लब लगायतका पाँचतारे स्तरका सेवा–सुविधा उपलब्ध गराउनेछ।
होटलको स्थान भारतीय सीमाबाट करिब ७ किलोमिटर तथा भारतको बागडोगरा विमानस्थलबाट करिब २७ किलोमिटर दूरीमा रहेकाले भारतीय पर्यटक लक्षित सेवा विस्तारमा विशेष जोड दिइने कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरको उक्त होटल सञ्चालनमा आएपछि नेपालको पूर्वी क्षेत्रसँगै समग्र पर्यटन उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
साथै, एनआईसी एशिया क्यापिटलले “SME to IPO” सेवा अन्तर्गत प्रा.लि. कम्पनीलाई पब्लिक कम्पनीमा रूपान्तरण गरी साधारण शेयर निष्कासनसम्म पुर्याउने परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। उक्त सेवा लिन इच्छुक कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीसँग सम्पर्क गर्न सकिने बताइएको छ।