काठमाडौँ। भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीका लागि नेपाललाई ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधन उपलब्ध गराएको छ।
नेपालको गृह मन्त्रालयमा आयोजित कार्यक्रममा, भारतीय कार्यवाहक राजदूत डा. राकेश पाण्डेले पहिलो खेपका सवारीसाधन गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन्। गृहमन्त्री अर्यालले भारत सरकार र जनताप्रति धन्यवाद व्यक्त गरे।
भारतीय दूतावासका अनुसार, यो सहयोग नेपाल सरकारको आवश्यकता अनुरूप प्रदान गरिएको हो। भारतले सन् २००८ देखि लगातार नेपाललाई निर्वाचनसम्बन्धी सहयोग गर्दै आएको छ। आगामी निर्वाचनका लागि भारतले कुल ६५० वटा सवारीसाधन विभिन्न चरणमा उपलब्ध गराउने योजना बनाएको छ।
भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो सहयोग दुई देशबीचको बहुआयामिक विकास साझेदारी र नेपाल–भारत जनताको आपसी विश्वास तथा मित्रताको प्रतीक हो।”