काठमाडाैं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकालको पहिलो वर्ष पूरा गरेका छन्। सन् २०२५ जनवरी २० मा कठोर चिसोबीच वासिङ्टनमा शपथ ग्रहण गर्दा उनले “हाम्रो बाटोमा कुनै अवरोध हुनेछैन” भनेका थिए । एक वर्षपछि फर्केर हेर्दा, उनको यो भनाइ केवल अभिव्यक्ति मात्र नभई कार्यशैलीको संकेत बनेको देखिन्छ।
विश्लेषकहरूका अनुसार ट्रम्प २.० को पहिलो वर्ष अमेरिकी इतिहासकै सबैभन्दा तीव्र, विवादास्पद र शक्ति–केन्द्रित शासनकालमध्ये एक बनेको छ। ह्वाइट हाउस फर्किएको ३६५ दिनमै ट्रम्पले राष्ट्रपतीय अधिकारको अभूतपूर्व प्रयोग गर्दै स्थापित अन्तर्राष्ट्रिय नियम–आधारित व्यवस्थालाई चुनौती दिएका छन्।
‘म्यानिफेस्ट डेस्टिनी’ र भू–राजनीतिक सन्देश
ट्रम्पले दोस्रो कार्यकालमा १९औँ शताब्दीको ‘म्यानिफेस्ट डेस्टिनी’ अवधारणालाई पुनर्जीवित गर्दै अमेरिका क्षेत्र विस्तारका लागि “ईश्वरीय अधिकारप्राप्त” रहेको संकेत दिएका छन्। यसै सन्दर्भमा उनले डेनमार्कअन्तर्गतको ग्रीनल्याण्ड अमेरिकामा समेट्ने दृढ संकल्प दोहोर्याएका छन्, जसले नेटो गठबन्धनभित्रै असहजता पैदा गरेको छ।
त्यस्तै, पनामा नहर फिर्ता लिने घोषणा मात्र होइन, क्यानडा र ग्रीनल्याण्डसहितको अमेरिकी झण्डा अंकित नक्सा सामाजिक सञ्जालमा साझा गर्दै उनले अमेरिकी विस्तारवादको सन्देश स्पष्ट पारेका छन्।
आदेश, सेना र शक्ति प्रदर्शन
ट्रम्पले पहिलो वर्षमै २२८ भन्दा बढी कार्यकारी आदेश जारी गर्दै सन् १९४२ पछिकै रेकर्ड तोडेका छन्। पदभार ग्रहण गरेकै दिन २६ वटा आदेशमा हस्ताक्षर गरेर उनले शासनशैलीको दिशा देखाएका थिए।
विदेश नीतिमा पनि ट्रम्पले कडा सैन्य शक्ति प्रयोग गरेका छन्। सात विदेशी मुलुक र ३५ अन्तर्राष्ट्रिय जलक्षेत्रमा आक्रमणको आदेश दिइएको छ भने १ हजार ७ सयभन्दा बढी व्यक्तिलाई क्षमादान दिँदै राष्ट्रपतीय विशेषाधिकारको व्यापक प्रयोग गरिएको छ।
अध्यागमन र भिसा नीतिमा कठोर मोड
ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्षको सबैभन्दा ठूलो आन्तरिक परिवर्तन अध्यागमन नीतिमा देखिएको छ। आपराधिक इतिहास नभएका व्यक्तिहरू नै अहिले अध्यागमन हिरासतमा रहेका सबैभन्दा ठूलो समूह बनेका छन्।
यससँगै, ७५ देशका नागरिकका लागि भिसा प्रक्रिया स्थगित गरिएको छ। सन् २०२४ मा सबैभन्दा बढी भिसा पाउने मुलुकहरू नै अहिले प्रतिबन्धित सूचीमा पर्नुले अमेरिकी आप्रवासन नीतिको कठोरता झल्काउँछ।
‘डोनरो डक्ट्रिन’ र नयाँ कूटनीति
ट्रम्पको विदेश नीतिलाई फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले “अन्तर्राष्ट्रिय कानुन कुल्चिने साम्राज्यवादी महत्त्वाकाङ्क्षा” भनेका छन्। भेनेजुएलामा गरिएको सैन्य हस्तक्षेपपछि ट्रम्पको नीतिलाई ‘डोनरो डक्ट्रिन’ नाम दिइएको छ—जहाँ अमेरिकी हित नै सबैभन्दा ठूलो आधार बनेको छ।
मध्यपूर्वमा दबाब र विवाद
ट्रम्पले मध्यपूर्वमा ३ हजार वर्षपछि शान्ति स्थापना गरेको दाबी गरे पनि इजरायल–इरान द्वन्द्वमा खुलेर इजरायलको समर्थन गरेपछि उनको कूटनीति पुनः विवादमा परेको छ। विश्लेषकहरू यस अवस्थालाई ‘सेन वासिङ’ को उदाहरण मान्छन्।
अर्थतन्त्र: सबैभन्दा कमजोर कडी
राजनीतिक रूपमा आक्रामक देखिए पनि ट्रम्पका लागि सबैभन्दा ठूलो चुनौती अर्थतन्त्र बनेको छ। महँगी नियन्त्रण गर्ने वाचा अझै पूरा हुन सकेको छैन भने रोजगारी वृद्धिको गति पनि सुस्त छ।
बिजुली र ग्यासको मूल्य बढ्दा पेट्रोलको मूल्य भने केही घटेको छ। तर सर्वसाधारणले दैनिक जीवनमा राहत महसुस गर्न सकेका छैनन्। लोकप्रियता सूचकांक लगातार घट्दो क्रममा छ, जसले २०२६ को मध्यावधि निर्वाचन र २०२८ को भविष्यलाई चुनौतीपूर्ण बनाएको छ।
विश्लेषकहरूका अनुसार ट्रम्प २.० ले अमेरिकालाई ‘नियममा चल्ने राष्ट्र’बाट ‘शक्तिमा चल्ने साम्राज्य’ तर्फ धकेलेको आरोप खेपिरहेको छ। मस्को र बेइजिङ भने यो अवस्थालाई मौनताका साथ नियालिरहेका छन्।