काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज देशभर निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा तोकिएका मतदान केन्द्रहरूमा हुनेछ।
कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूह अन्तर्गत एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। उक्त पदमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्। बाँकी १७ पदका लागि आज मतदान हुन लागेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
निर्वाचनका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ। कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशमा हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान हुनेछ।
त्यसैगरी गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा घोराही दाङको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगर सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय परिसर तथा सुदूरपश्चिम प्रदेशमा धनगढी कैलालीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुने तय गरिएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।