काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको खुद नाफा ४३ प्रतिशतले घटेको छ। बैंकले यस अवधिमा १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको सोही अवधिको २ अर्ब ८३ करोड २३ लाख रुपैयाँको तुलनामा उल्लेखनीय गिरावट हो।
बैंकका अनुसार कर्जाको मागमा आएको कमी, छोटो अवधिमा ब्याजदरमा भएको उतारचढाव, जेनजी आन्दोलनपछिको राजनीतिक अस्थिरता तथा समग्र आर्थिक अनिश्चितताका कारण नाफामा दबाब परेको हो।
दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ। कुल सञ्चालन आम्दानी ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २ अर्ब ३३ करोड ८७ लाख रुपैयाँमा झरेको छ।
नाफा घटेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि १६.६० रुपैयाँबाट घटेर ९.४५ रुपैयाँमा पुगेको छ।
यस अवधिमा खराब कर्जा (एनपीएल) अनुपात ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेको छ, जसले बैंकको सम्पत्ति गुणस्तरमा दबाब बढेको संकेत गर्दछ।
बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ। जगेडा कोष ३ अर्ब ६१ करोड १० लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ भने रिजर्भ कोष ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ रहेको छ।
समिक्षा अवधिसम्म बैंकले ३ खर्ब २८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ५ खर्ब १९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।