विकट यलुङका विद्यार्थीका लागि विद्यालय बस, शैक्षिक पहुँच र नतिजामा सुधारको अपेक्षा

58 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🚌 विकट यलुङका विद्यार्थीका लागि विद्यालय बस सेवा सुरु
  • 🎓 लामो पैदल यात्रा अन्त्य, शैक्षिक पहुँचमा सुधार
  • ⏱️ विद्यार्थीको समय बचत र नियमित उपस्थितिमा वृद्धि हुने अपेक्षा
  • 👨‍👩‍👧 अभिभावकको सुरक्षा चिन्ता र आर्थिक भार कम हुने
  • 📈 नतिजा सुधार र विद्यालयको समग्र शैक्षिक गुणस्तर बढ्ने विश्वास

काठमाडौं । डोलखा जिल्लाको जिरी नगरपालिका–२ स्थित विकट गाउँ यलुङका विद्यार्थीको शैक्षिक पहुँच सहज बनाउने उद्देश्यले बौद्ध भुवनेश्वरी सामुदायिक विद्यालयले विद्यालय बस सञ्चालनमा ल्याउने भएको छ। भौगोलिक विकटता, लामो पैदल यात्रा र सुरक्षाको जोखिमका कारण प्रभावित हुँदै आएको पठनपाठन सुधार गर्ने लक्ष्यसहित बस सेवा सुरु गर्न लागिएको हो।

विद्यालयको ६३औँ वार्षिकोत्सवको अवसरमा ‘कल्स ओभर रिजेज नेपाल’ नामक संस्थाले विद्यालयलाई बस उपलब्ध गराएपछि बस सञ्चालनको तयारी थालिएको विद्यालयले जनाएको छ। जिरी नगरपालिकाको समन्वयमा उपलब्ध गराइएको बस नगरप्रमुख मित्र जिरेलको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको हो।

२०२९ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ। पाँच सय ५७ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा अधिकांश विद्यार्थी टाढाटाढा गाउँबाट दैनिक घन्टौँ पैदल हिँडेर विद्यालय आउन बाध्य थिए। विद्यालय बस सञ्चालनपछि विद्यार्थीको समय बचत हुनुका साथै नियमित उपस्थितिमा सुधार आउने अपेक्षा गरिएको छ।

स्थानीय अभिभावकहरूका अनुसार बस सेवाले बालबालिकाको सुरक्षासँगै अभिभावकको चिन्ता र आर्थिक भारसमेत कम गर्नेछ। स्थानीय पार्वती खत्रीले दैनिक चार घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता हट्न लागेको भन्दै विद्यालय बसप्रति खुसी व्यक्त गरिन्। त्यस्तै, जिरी–१ राबुकी रेनुका बुढाथोकीले जङ्गलको बाटो हुँदै भारी झोला बोकेर विद्यालय जानुपर्ने समस्या अब अन्त्य हुने बताइन्।

विद्यालयका प्रधानाध्यापक आङबाबा शेर्पाका अनुसार लामो दूरीका कारण विद्यार्थीको शैक्षिक नतिजा प्रभावित हुँदै आएको थियो। बस सेवा सञ्चालनपछि विद्यार्थीको ऊर्जा, समय र ध्यान पढाइमा केन्द्रित हुने र समग्र शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, एसईई परीक्षाका बेला विद्यार्थीलाई बजारमा राख्दा लाग्ने अतिरिक्त खर्चसमेत अब घट्ने विद्यालयको अनुमान छ।