चितवन । चितवन जिल्लामा लगाइएको गहुँबालीमा अज्ञात रोग देखिएपछि किसान चिन्तित बनेका छन्। जरामा लाही (कीरा) लागेको र पात पहेँलो भई ढुसी जस्तो देखिने समस्या बढ्दै जाँदा उत्पादनमा असर पर्ने आशङ्का गरिएको छ।
भरतपुर महानगरपालिकाका विभिन्न क्षेत्रका किसानले लगाएको गहुँमा यस्तो समस्या देखिएको हो। कृषि विकास कार्यालय चितवनका अनुसार यस प्रकारको रोग यसअघि तराईका अन्य जिल्लामा देखिँदै आएको भए पनि चितवनमा भने नयाँ रूपमा फैलिन थालेको हो।
कृषि विकास कार्यालयकी सूचना अधिकारी विन्दु पौडेलका अनुसार पछिल्ला दिनमा गहुँको पात पहेँलो हुने र जरामा कीराले खाएको जस्तो समस्या लिएर किसानहरू कार्यालयमा आउने क्रम बढेको छ। हालसम्म रोगको यकिन पहिचान भइनसकेकाले प्राविधिक टोलीले फिल्ड अनुगमन तथा नमूना परीक्षणको काम गरिरहेको उनले जानकारी दिइन्।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुरकी वैज्ञानिक सरस्वती न्यौपानेले पनि विस्तृत अध्ययन र प्रयोगशाला परीक्षण नगरी कुन रोग हो भनेर निष्कर्ष निकाल्न नसकिने बताइन्। उनका अनुसार हाल नमूना सङ्कलन गरी परीक्षण प्रक्रिया अगाडि बढाइएको छ।
चितवन जिल्लामा हाल चार हजार ७११ हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ। गत वर्ष उक्त क्षेत्रफलबाट १५ हजार ५७७ मेट्रिक टन गहुँ उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङ्क छ। यस वर्ष भने केही किसानले गहुँको सट्टा राज्मा खेती गरेकाले क्षेत्रफल र उत्पादन दुवै घट्न सक्ने अनुमान गरिएको छ। रोगको प्रभाव बढेमा किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्।