बर्दिबास (महोत्तरी)। सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन पूर्व नेपाल नम्बर एक प्रो भुवन नगरकोटी शीर्षस्थानमा उक्लिएका छन्। मङ्गलबार बर्दिबासस्थित पार–७२ मिथिला नगरी आर्मी गल्फ क्लबमा सम्पन्न पहिलो राउन्डमा उनले ५–अन्डर ६७ को उत्कृष्ट स्कोर बनाउँदै दुई स्ट्रोकको अग्रता लिएका हुन्।
भुवनकुमार रोक्का ३–अन्डर ६९ सहित दोस्रो स्थानमा छन् भने सुमन राई र धनबहादुर थापा १–अन्डर ७१ सहित संयुक्त रूपमा तेस्रो स्थानमा रहेका छन्। टंकबहादुर कार्कीले इभन–पार ७२ खेल्दै पाँचौँ स्थानमा पहिलो दिनको खेल समाप्त गरे। एमेच्योर प्रकृत तामाङ तथा प्रो रमेश अधिकारी, निरज तामाङ र दिनेश प्रजापतिले १–ओभर ७३ सहित संयुक्त रूपमा छैटौँ स्थान बाँडेका छन्। शिवराम पौडेल, रवि खड्का, सुमन परियार र प्रदीपकुमार लामा २–ओभर ७४ सहित संयुक्त रूपमा दशौँ स्थानमा छन्।
शीर्षस्थानमा रहेका भुवन नगरकोटीले फ्रन्ट नाइन ३–अन्डर ३३ र ब्याक नाइन २–अन्डर ३४ खेल्दै समग्रमा ५–अन्डर ६७ को स्कोर निकाले। उनले दोस्रो, चौथो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दा आठौँ होलमा एक सट गुमाए। त्यसपछि बोगी रहित ब्याक नाइन खेल्दै ११औँ र १६औँ होलमा बर्डीको सफलता प्राप्त गरे।
भुवनकुमार रोक्काले फ्रन्ट नाइन इभन–पार ३६ र ब्याक नाइन ३–अन्डर ३३ खेले। उनले पहिलो, तेस्रो र सातौँ होलमा बर्डी गरे भने दोस्रो, पाँचौँ र नवौँ होलमा बोगी खेपे। ब्याक नाइनमा उनले १३औँ, १४औँ र १५औँ होलमा लगातार तीन बर्डी प्रहार गरे।
सुमन राईले फ्रन्ट नाइन २–ओभर ३८ खेले पनि ब्याक नाइनमा ३–अन्डर ३३ को उत्कृष्ट पुनरागमन गरे। उनले ११औँ होलमा बर्डी र १८औँ होलमा ईगलको सफलता प्राप्त गरे। धनबहादुर थापाले फ्रन्ट नाइन १–ओभर ३७ र ब्याक नाइन २–अन्डर ३४ खेले।
एमेच्योरतर्फ प्रकृत तामाङले १–ओभर ७३ खेल्दै शीर्षस्थान ओगटे। सुन्दर राई ३–ओभर ७५ सहित दोस्रो र भरत तामाङ ९–ओभर ८१ सहित तेस्रो स्थानमा छन्।
नेपाल पीजीएद्वारा सूर्य नेपाल प्रालिको प्रायोजनमा आयोजित ५४ होलको प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गरी ३६ खेलाडी सहभागी छन्। दोस्रो राउन्डपछि कट लागु हुनेछ, जसअन्तर्गत शीर्ष १८ प्रो तथा एमेच्योर खेलाडीले अन्तिम चरणमा स्थान बनाउनेछन्।
प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ७० हजार, उपविजेताले १ लाख २५ हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष १८ स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार पाउने व्यवस्था छ।
यसअघि मधेस प्रदेशका खेलकुद तथा सामाजिक विकास मन्त्री बसन्तकुमार कुशवाहाले होल नम्बर ९ मा औपचारिक पट गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा मध्यपूर्वी पृतना कमाण्डर मेजर जनरल कृष्णबहादुर जीसी, चिफ अफ स्टाफ ब्रिगेडियर जनरल शरद लामिछाने, खेलकुद मन्त्रालयका सचिव रञ्जित यादवलगायतको उपस्थिति थियो। मिथिला नगरीमा सूर्य नेपाल गल्फ टुरको प्रतियोगिता आयोजना भएको यो पहिलो पटक हो।