माछापुच्छ्रे बैंकको नाफामा २५% उछाल, ६ महिनामा खुद नाफा १ अर्ब नाघ्यो

59 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

📈 ६ महिनामा खुद नाफा २५%ले बढेर १ अर्ब नाघ्यो
💰 EPS १३.३६ बाट बढेर १६.७३ रुपैयाँ पुग्यो
🏦 कर्जा १३ अर्ब र निक्षेप २८ अर्ब रुपैयाँले विस्तार
📉 निष्क्रिय कर्जा अनुपात ४.२५% मा झर्यो
📊 कर्जा अपलेखन खर्चमा ठूलो कमी, नाफा वृद्धिमा सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा उल्लेखनीय रूपमा बढ्दै १ अर्ब रुपैयाँ नाघेको छ, जसले बैंकको वित्तीय अवस्था थप सबल बन्दै गएको संकेत गरेको छ।

बैंकले ६ महिनाको अवधिमा १ अर्ब १ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको ८० करोड ७३ लाख रुपैयाँको तुलनामा २५.२५ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९४ करोड १० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको माघ मसान्तको २ अर्ब ८२ करोड ३७ लाख रुपैयाँभन्दा बढी हो । त्यस्तै, खुद फि तथा कमिसन आम्दानी पनि ६७ करोड २१ लाख रुपैयाँबाट बढेर ८२ करोड ८ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि बैंकले ५७ करोड ४३ लाख रुपैयाँ प्रोभिजन गरेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो । यस कारण बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ४५ करोड २७ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कम देखिएको छ।

सकारात्मक पक्ष के छ भने, बैंकको गैरसञ्चालन खर्च (कर्जा अपलेखन) उल्लेखनीय रूपमा घटेर १ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही शीर्षकमा ४७ करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो । यही खर्च नियन्त्रणका कारण बैंकले समग्र नाफा बढाउन सफल भएको देखिन्छ।

कर्जा विस्तारतर्फ बैंकले ६ महिनामा १३ अर्ब रुपैयाँले कर्जा बढाएर १ खर्ब ५४ अर्ब ९५ लाख रुपैयाँ पुर्‍याएको छ भने निक्षेप २८ अर्ब रुपैयाँले बढेर २ खर्ब ४ अर्ब रुपैयाँ नाघेको छ।

यस अवधिमा बैंकले निष्क्रिय कर्जाको अनुपात ४.५४ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशतमा झारेको छ । खुद निष्क्रिय कर्जा अनुपात १.४१ प्रतिशतमा सीमित रहनु बैंकको कर्जा गुणस्तर सुधार हुँदै गएको संकेत हो।

नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (EPS) १३.३६ रुपैयाँबाट बढेर १६.७३ रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.८२ प्रतिशत र कुल पुँजीकोष अनुपात १२.१६ प्रतिशत कायम रहेको छ।

६ महिनाको नाफामध्ये विभिन्न कोष तथा दायित्व छुट्याएपछि बैंकसँग सेयरधनीलाई वितरण गर्न सकिने नाफा ४४ करोड १२ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६१.६० रुपैयाँ र पी/ई रेसियो १३.६१ रहेको छ।

समग्रमा, केही चुनौतीबीच पनि माछापुच्छ्रे बैंकले कर्जा विस्तार, खर्च नियन्त्रण र आम्दानी वृद्धिमार्फत आफ्नो वित्तीय प्रदर्शनलाई मजबुत बनाउँदै लगेको देखिन्छ।