छैटौँ टाइगर कप भलिबल भोलिबाट पोखरामा, मुख्य प्रायोजक एनसेल

72 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

🏐 छैटौँ टाइगर कप सुरु हुँदै – भोलिदेखि पोखरामा
🤝 मुख्य प्रायोजक एनसेल – खेलकुद र युवा सशक्तीकरणमा सहकार्य
🌍 ११ टोलीको सहभागिता – राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा
🏆 आकर्षक पुरस्कार राशि – विजेतालाई रु ६.६६ लाख
🎯 कर्पोरेट सामाजिक जिम्मेवारी – एनसेलको दीर्घकालीन प्रतिबद्धता

काठमाडौँ । खेलकुद विकास र युवा सशक्तीकरणलाई प्राथमिकतामा राख्दै एनसेलले छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ। प्रतियोगिता भोलि शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ।

टाइगर कप विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको राष्ट्रियस्तरकै प्रतिष्ठित भलिबल प्रतियोगिता हो। गत वर्षझैँ यस वर्ष पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गर्दै प्रतियोगितालाई निरन्तरता दिएको हो।

एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले टाइगर कपसँगको सहकार्यले खेलकुद र युवा सशक्तीकरणप्रतिको एनसेलको प्रतिबद्धता झल्काउने बताए।
“यो प्रतियोगिताले नेपालको लोकप्रिय खेल भलिबलको प्रवर्द्धन गर्नुका साथै स्थानीय तहमा हुर्किँदै गरेका प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्नेछ,” उनले भने, “खेलकुदले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने महत्वपूर्ण भूमिका खेल्छ।”

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको यो प्रतियोगिता माघ १७ गतेसम्म पोखरा रङ्गशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले खेलकुद क्षेत्रमा निरन्तर सहकार्य गरेकोमा एनसेलप्रति आभार व्यक्त गरे। “यस्ता सहकार्य र सहयोगकै कारण टाइगर कप देशकै ठूला भलिबल प्रतियोगितामध्ये एक बन्न सफल भएको छ,” उनले बताए।

छैटौँ संस्करणको टाइगर कपमा महिलातर्फ ५ र पुरुषतर्फ ६ गरी कुल ११ टोली सहभागी छन्। महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड यूथ स्पोर्टस क्लब र थाइल्यान्ड क्विन्स सहभागी छन्। पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्सका टोलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा महिला र पुरुष दुवै तर्फका विजेता टोलीले रु ६,६६,६६६, उपविजेताले रु ३,६६,६६६ र तृतीय स्थान हासिल गर्ने टोलीले रु २,०६,६६६ पुरस्कार प्राप्त गर्नेछन्।

एनसेलले जिम्मेवार कर्पोरेट संस्थाका रूपमा भलिबलसँगै क्रिकेट, फुटबल लगायतका खेलकुद क्षेत्रमा सहकार्य गर्दै आएको छ। साथै, एनसेल फाउन्डेसनमार्फत पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणमा समेत सहयोग गर्दै आएको जनाएको छ।