६ महिनामा चिया र अलैँचीबाटै झन्डै १० अर्ब निर्यात, टप १० मा तेलदेखि ऊनी उत्पादनसम्म

58 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🍃 चिया र अलैँचीबाट १० अर्ब नजिक निर्यात – कृषिजन्य वस्तुको दबदबा
  • 💰 अलैँची शीर्ष स्थानमा – ६ महिनामा ७.१९ अर्बको कारोबार
  • 🫖 नेपाली चियाको माग बढ्दो – २.२० अर्बको निर्यात
  • 🛢️ तेल र गलैँचाको बलियो उपस्थिति – निर्यात विविधीकरण
  • 🧶 ऊन, धागो र हस्तकला पनि टप १० मा – स्वदेशी उत्पादनको अवसर

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिना (साउन–पुस) मा नेपालको निर्यात व्यापारमा कृषिजन्य तथा स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरूको उल्लेखनीय योगदान देखिएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा चिया र अलैँची मात्रबाट झन्डै १० अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ।

पुस मसान्तसम्म चिया र अलैँची गरी कुल ९ अर्ब ४० करोड ७२ लाख रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकले देखाउँछ। यसमध्ये अलैँचीले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। छ महिनामा ३४ लाख ६१ हजार ३५० केजी अलैँची निर्यात हुँदा ७ अर्ब १९ करोड ९५ लाख रुपैयाँ वैदेशिक मुद्रा भित्रिएको छ।

त्यसैगरी, नेपाली चियाको निर्यात पनि अर्बको आँकडामा पुगेको छ। समीक्षा अवधिमा २ अर्ब २० करोड ७७ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख ९४ हजार ३८ केजी कालो तथा अन्य प्रशोधित चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको छ। यी दुई वस्तुले नेपालको कृषिजन्य निर्यातको मेरुदण्डको भूमिका खेलेका छन्।

🔝 निर्यातका ‘टप १०’ वस्तुहरू

चिया र अलैँचीसँगै औद्योगिक तथा हस्तकलामा आधारित उत्पादनहरूले पनि नेपालको निर्यात व्यापारमा उल्लेखनीय स्थान बनाएका छन्। भन्सार विभागका अनुसार पछिल्ला ६ महिनामा सर्वाधिक निर्यात हुने १० वस्तु यसप्रकार छन्–

छ महिनामा सबैभन्दा बढी भटमासको तेल निर्यात भएको छ। यस अवधिमा ५६ अर्ब ८ करोड २४ लाख रुपैयाँ बराबरको २७ करोड २२ लाख ५७ हजार ९१८ केजी भटमासको तेल विदेश पठाइएको छ।

तेस्रो स्थानमा गलैँचा परेको छ। ६ महिनामा ४ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको १ लाख ९१ हजार ७५ स्क्वायर मिटर गलैँचा निर्यात भएको छ।

चौथो नम्बरमा सूर्यमुखी तेल रहेको छ। समीक्षा अवधिमा ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ बराबरको २ करोड २२ लाख ६७ हजार १४८ किलोलिटर सूर्यमुखी तेल निर्यात भएको छ।

पाँचौँ स्थानमा जुटका कपडा परेका छन्। छ महिनामा ३ अर्ब ४६ करोड १३ लाख रुपैयाँ बराबरको ५ करोड ६६ लाख ४४ हजार ८७३ स्क्वायर मिटर जुटका कपडा निर्यात गरिएको छ।

छैटौँ स्थानमा फेल्टका सामान (सजावट सामग्री, जुत्ता र खेलौना) रहेका छन्। यस अवधिमा २ अर्ब ९० करोड १० लाख रुपैयाँ बराबरको ९ लाख ६९ हजार ७३ केजी फेल्ट सामग्री निर्यात भएको छ।

सातौँ नम्बरमा पाम आयल परेको छ। छ महिनामा २ अर्ब ८० करोड ५२ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ६० हजार ७६४ किलोलिटर पाम आयल निर्यात भएको छ।

आठौँ स्थानमा पोलिएस्टर धागो परेको छ। पाँच महिनाको अवधिमा २ अर्ब ४५ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख ९४ हजार ३८ केजी पोलिएस्टर धागो निर्यात भएको छ।

निर्यात हुने शीर्ष १० वस्तुको सूचीमा ऊनी सल र मफलर पनि अटाएका छन्। छ महिनामा २ अर्ब ११ करोड ८७ लाख रुपैयाँ बराबरका १५ लाख २१ हजार ४८३ थान ऊनी सल तथा मफलर विदेशिएका छन्।