काठमाडौं । बिस्कुट तथा कन्फेक्सनरी क्षेत्रको चर्चित स्वदेशी ब्रान्ड ‘खजुरीको’ उत्पादन गर्ने खजुरीको नेपाल प्रालिले पछिल्ला वर्षहरूमा आफ्नो बजार विस्तारलाई तीव्र बनाउँदै उल्लेखनीय व्यापार वृद्धि हासिल गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२४/२५ मा झन्डै २० प्रतिशतको कारोबार वृद्धि गर्दै २ अर्ब ४ करोड ५० लाख रुपैयाँको बिस्कुट तथा कुकीज बिक्री गरेको छ।
पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा खजुरीकोको व्यापार निरन्तर उकालो यात्रामा देखिन्छ। सन् २०२१ मा १ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको कारोबार सन् २०२२ मा १ अर्ब ६४ करोड पुगेको थियो। त्यसपछि सन् २०२३ र २०२४ मा क्रमशः १ अर्ब ७० करोड १० लाख रुपैयाँको कारोबार गर्दै कम्पनीले आफ्नो बजार उपस्थिति बलियो बनाएको छ।
यो सकारात्मक लय चालु आर्थिक वर्ष २०२५/२६ को पहिलो चार महिनामा झन् तीव्र देखिएको छ। यस अवधिमा कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतको कारोबार वृद्धि दर्ता गरेको छ, जसले खजुरीकोको आक्रामक बजार रणनीति सफल बन्दै गएको संकेत गर्दछ।
यद्यपि, कच्चा पदार्थको मूल्यमा भएको उतारचढावका कारण कम्पनीको सञ्चालन नाफा मार्जिन भने दबाबमा देखिएको छ। सन् २०२४ मा १८ प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा घटेर १२ प्रतिशतमा सीमित भएको छ।
यसबीच कम्पनीले आफ्नो वित्तीय संरचनामा उल्लेखनीय सुधार गरेको छ। ऋणको भार घटाउँदै सन् २०२३ मा ४.० गुणा रहेको ऋण–नेटवर्थ अनुपात सन् २०२५ सम्म आइपुग्दा १.५९ गुणामा झरेको छ। यो सुधार कम्पनीमा थप १५ करोड रुपैयाँ बराबरको इक्विटी इन्फ्युजन भएका कारण सम्भव भएको हो।
कम्पनीको वित्तीय अवस्था र बजार स्थितिमा आएको सुधारलाई आधार मान्दै इक्रा नेपालले खजुरीको नेपाल प्रालिको कर्जा रेटिङमा सुधार गरेको छ। इक्राले कम्पनीको १ अर्ब २६ करोड ९७ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि प्रदान गर्दै आएको एलबी प्लस रेटिङलाई अपग्रेड गरी एलबीबी कायम गरेको छ। साथै, २३ करोड ३ लाख रुपैयाँको छोटो अवधिको कर्जाका लागि ए फोर रेटिङलाई निरन्तरता दिएको छ। आवश्यक विवरण उपलब्ध गराएपछि कम्पनीलाई इक्राको असहयोगी संस्थाको सूचीबाट समेत हटाइएको छ।
यद्यपि, कम्पनीका सामु केही चुनौतीहरू अझै कायम छन्। नगद प्रवाहको तुलनामा साँवा भुक्तानीको दायित्व बढी हुँदा ऋण तिर्ने क्षमताको सूचक डेब्ट सर्भिस कभरेज रेसियो सन् २०२५ मा घटेर ०.९४ गुणामा सीमित भएको छ, जुन सन् २०२३ मा १.३७ गुणा थियो। यसले तरलताको केही दबाब देखाउँछ।
यसका साथै, कम्पनीको आम्दानीको करिब ७८ प्रतिशत हिस्सा दुई प्रमुख उत्पादनमा मात्रै निर्भर रहनु, स्वदेशी तथा बहुराष्ट्रिय ब्रान्डसँगको तीव्र प्रतिस्पर्धा, र गहुँ, चिनी तथा पाम आयलजस्ता कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य उतारचढाव पनि जोखिमका पक्षका रूपमा देखिन्छन्।
सन् १९९५ मा सानो प्रोप्राइटरसिप फर्मबाट सुरु भएको खजुरीको व्यवसाय सन् २००४ मा कम्पनीका रूपमा दर्ता भएको थियो। हाल ललितपुर, चितवन र मकवानपुरमा आफ्नै उत्पादन केन्द्र सञ्चालन गर्दै खजुरीको नेपालले बिस्कुट, कुकीज र पफ उत्पादन गरी ‘खजुरीको’ ब्रान्डमार्फत देशभर बिक्री–वितरण गर्दै आएको छ।