काठमाडौं । जेनजी आन्दोलनका सहिदका सन्तानका लागि गोल्याण ग्रुपले अघि सारेको शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत तीन बालबालिकाले औपचारिक रूपमा अक्षरारम्भ गरेका छन्। सरस्वती पूजाको शुभ अवसर पारेर काठमाडौं, पोखरा र सिराहा (लहान) मा उनीहरूले आफ्नो शैक्षिक यात्राको पहिलो कदम चालेका हुन्।
गोल्याण ग्रुपले गत असोज २४ गते सहिदका बालबालिकालाई कक्षा १२ सम्म पूर्ण शैक्षिक सहयोग प्रदान गर्ने घोषणा गरेको थियो। उक्त कार्यक्रमअन्तर्गत हाल ३४ जना बालबालिका समेटिएका छन्। तीमध्ये विद्यालय भर्ना हुने उमेर पुगेका तीन बालबालिकाले शुक्रबार अक्षरारम्भ गरेका हुन्।
काठमाडौंको बानियाटारस्थित काठमाडौं यूरो स्कुलमा नेल्शन पराजुली, पोखराको रानीपौवास्थित अर्ली चाइल्डहुड एकाडेमीमा एनिक गुरुङ र सिराहाको लहानस्थित स्कुल अफ स्कलरमा विवांशी चौधरीले अक्षरारम्भ गरेका छन्। तीनै बालबालिका हाल २ वर्षका छन्।
काठमाडौं यूरो स्कुलमा आयोजित अक्षरारम्भ समारोहमा गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले सहिद परिवारप्रति सम्मान प्रकट गर्दै यो सहयोग दया नभई सामाजिक जिम्मेवारी भएको स्पष्ट पारे।
“हाम्रो सहयोग उपहार होइन, जिम्मेवारी हो। हामी बालबालिकाको शिक्षामा दीर्घकालीन रूपमा साथ दिन चाहन्छौं,” उनले भने, “यी नानीहरू भोलि डाक्टर, इन्जिनियर, शिक्षक वा उद्यमी बनेर देश निर्माणमा योगदान दिन सकून्।”
समारोहकै अवसरमा गोल्याणले नेल्शन पराजुलीको एक वर्षको शैक्षिकवृत्ति रकम ३ लाख ७६ हजार रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेका छन्।
गोल्याण ग्रुपकी कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड जनसम्पर्क प्रमुख ज्योति गैह्रेका अनुसार शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक बालबालिकाको मासिक ४० हजार रुपैयाँका दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँसम्म खर्च व्यहोर्ने व्यवस्था गरिएको छ। यसका लागि सहिद परिवार, विद्यालय र गोल्याण ग्रुपबीच त्रिपक्षीय सम्झौता भइसकेको छ।
काठमाडौं यूरो स्कुलका अध्यक्ष प्रमोद पाण्डेले सहिद सन्तानको शिक्षामा जिम्मेवारी लिएर गोल्याण ग्रुपले समाजप्रतिको दायित्वलाई थप गहिरो बनाएको बताए। पोखरामा आयोजित समारोहमा अर्ली चाइल्डहुड एकाडेमीकी प्रिन्सिपल सालभी बास्तोला मसानीले सहकार्यले विद्यालयलाई पनि थप उत्तरदायी बनाएको उल्लेख गरिन्।
लहानमा विवांशी चौधरीको भर्नापछि उनका ठूला बुवा अजय चौधरीले सहिद विजयले देखेको सपना अब पूरा हुने विश्वास व्यक्त गर्दै गोल्याण ग्रुपप्रति आभार प्रकट गरे।