काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच डिजिटल वित्तीय सेवाको विस्तारका लागि सहकार्य भएको छ। तेस्रो नेसनल इन्स्योरेन्स डिस्कोर्सको अवसरमा दुवै संस्थाबीच सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएसँगै जीवन बीमा क्षेत्रमा डिजिटल पहुँच विस्तारको नयाँ अध्याय थपिएको छ।
सम्झौताअनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमा पोलिसीधारक, कर्मचारी तथा अभिकर्ताले कुमारी बैंकमार्फत भर्चुअल फोनपे क्रेडिट कार्ड सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यस सुविधाले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्नुका साथै वित्तीय सेवामा समावेशिता बढाउने लक्ष्य लिएको छ।
सम्झौताका अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले यस सहकार्यलाई बीमा क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनले प्रविधिमैत्री र नवीन सेवामार्फत ग्राहक सन्तुष्टि तथा डिजिटल रूपान्तरणलाई संस्थाको प्रमुख प्राथमिकतामा राख्दै अघि बढिरहेको स्पष्ट पारे।
यस सहकार्यले रिलायबल लाइफसँग आबद्ध ग्राहक र सरोकारवालालाई आधुनिक, सुरक्षित तथा सहज डिजिटल भुक्तानी सेवामा पहुँच उपलब्ध गराउने विश्वास लिइएको छ। दुवै संस्थाले यसलाई बैंकास्योरन्स र डिजिटल वित्तीय सेवाको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने कदमका रूपमा व्याख्या गरेका छन्।
कुमारी बैंक, फोनपे तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भविष्यमा पनि ग्राहककेन्द्रित, प्रविधिमैत्री र नवप्रवर्तनमा आधारित वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।