सांग्रिला बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान

252 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • सांग्रिला बैंकले मुस्ताङको स्याङ स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान।
  • बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा निरन्तर सहयोग।
  • दम, निमोनिया लगायतका श्वासप्रश्वाससम्बन्धी उपचारमा अक्सिजन कन्सेन्ट्रेटर उपयोगी।
  • स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीले बैंकलाई आभार।
  • सांग्रिला बैंकको १०९ शाखा र ३० एटीएममार्फत देशभर सेवा विस्तार।
  • बैंकले आगामी दिनमा पनि ग्रामीण स्वास्थ्य क्षेत्रमा यस्ता कार्यक्रम जारी राख्ने प्रतिबद्धता।

मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मुस्ताङको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेको छ।

घरपझोङ गाउँपालिका–३ स्थित स्याङ स्वास्थ्य केन्द्रलाई जोमसोम शाखाका प्रबन्धक टासी थकालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरिएको हो।

कार्यक्रममा स्वास्थ्य केन्द्रकी अनमी आशमाया परियार र वडा सदस्य वीरप्रसाद थकालीलाई उपकरण हस्तान्तरण गरिएको थियो।

प्रबन्धक थकालीले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष विभिन्न संघ–संस्था, विद्यालय तथा स्वास्थ्य संस्थामा शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएको जानकारी दिए। उनले, "हाम्रो बैंकले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तारका लागि निरन्तर सहयोग गरिरहेको छ," भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

स्वास्थ्य केन्द्रकी अनमी परियारले अक्सिजन कन्सेन्ट्रेटर जस्तो अत्यावश्यक सामग्री पाउँदा स्थानीय स्वास्थ्य सेवामा सहजता आउने बताउँदै सांग्रिला बैंकप्रति आभार व्यक्त गरिन्। उनले दम, निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी रोगीहरूको उपचारमा यो उपकरण अत्यन्त उपयोगी हुने बताइन्।

त्यस्तै वडा सदस्य थकालीले स्वास्थ्य क्षेत्रमा यस्ता सहयोगले दुर्गम क्षेत्रका नागरिकलाई ठूलो राहत पुग्ने भन्दै बैंकलाई धन्यवाद दिए। उनले ग्रामीण बासिन्दालाई नजिकमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन राज्यसँगै निजी क्षेत्रको यस्तो सहकार्य आवश्यक रहेको उल्लेख गरे।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा विस्तार गरेको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकता दिंदै बैंकले आगामी दिनमा सेवा क्षेत्र अझ विस्तार गर्ने जनाएको छ।

दुर्गम क्षेत्रका स्थानीय स्वास्थ्य संस्थामा यस्ता उपकरणले उपचारमा सहजता ल्याउने भन्दै स्वास्थ्यकर्मी तथा स्थानीयवासीले आगामी दिनमा पनि यस्तै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।