काठमाडौं । Ridge Line Energy Limited ले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ २८ गतेदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।
यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको कम्पनीले बाँकी शेयर सर्वसाधारणका लागि खुला गरेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न Securities Board of Nepal (सेबोन) बाट अनुमति पाएको थियो।
जसमध्ये ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँड गरिसकिएको छ।
दोस्रो चरणमा २८ हजार ४४० कित्ता कम्पनीका कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ११ लाख ८० हजार २६० कित्ता शेयर (११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबर) सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा बिक्री खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीलाई CARE Ratings Nepal ले “CARE-NP BB (Issuer Rating)” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा Prabhu Capital Limited रहेको छ।