काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।
कम्पनीले सार्वजनिक निष्कासन गर्न लागेको कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको हो।
यस समूहअन्तर्गतका लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, अनलाइन प्रणाली ‘मेरो सेयर’ मार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।