कामना सेवा विकास बैंकद्वारा भानु माध्यमिक विद्यालयलाई छात्रवृत्ति प्रदान

74 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🎓 विपन्न विद्यार्थीलाई कामना सेवा विकास बैंकको छात्रवृत्ति
  • 🏫 दरबार हाई स्कूलको १७२औँ स्थापना दिवसमा सहयोग
  • 💰 आर्थिक अभावले प्रभावित विद्यार्थीलाई लक्षित कार्यक्रम
  • 🤝 CSR अन्तर्गत शिक्षा क्षेत्रमा निरन्तर योगदान
  • 📚 शैक्षिक उत्साह र भविष्य निर्माणमा टेवा पुग्ने अपेक्षा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) मा अध्ययनरत गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। विद्यालयको १७२औँ स्थापना दिवस तथा अभिभावक दिवसको अवसर पारेर बैंकले उक्त सहयोग गरेको हो।

विद्यालयमा अध्ययनरत करिब १ हजार १०० भन्दा बढी विद्यार्थीमध्ये आर्थिक अभावका कारण पठनपाठन प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले छात्रवृत्ति रकम उपलब्ध गराएको जनाएको छ। छात्रवृत्ति रकम बैंकका मार्केटिङ विभाग प्रमुख पर्मा ढुङ्गेलले विद्यालयकी प्रधानाध्यापक शारदा कुमारी पौडेललाई हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा प्रधानाध्यापक पौडेलले जेहेन्दार र अनुशासित विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको छात्रवृत्तिले उनीहरूको शैक्षिक उत्साह र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरिन्। उनले बैंकप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्ने बताइन्।

बैंकका मार्केटिङ विभाग प्रमुख ढुङ्गेलले शिक्षा क्षेत्र सामाजिक विकासको आधार भएको उल्लेख गर्दै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र समुदाय विकासमा निरन्तर योगदान गर्दै आएको बताए। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक–शिक्षिका, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैंकले सरोकारवालासँग सहकार्य गर्दै सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।