काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म नेपाल बैंक लिमिटेडको खुद नाफा अघिल्लो वर्षको तुलनामा ठूलो वृद्धिसँगै १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ पुगेको छ। यसअघि सोही अवधिमा बैंकले केवल ४६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३९४% बढेर २ अर्ब ६ करोड १५ लाख रुपैयाँ पुगेको छ। इम्पेयरमेन्ट चार्ज घटेपछि नाफामा सकारात्मक असर परेको बैंकले जनाएको छ।
यस अवधिमा खुद ब्याज आम्दानी ४ अर्ब ४७ करोड र फि तथा कमिसन आम्दानी ४५ करोड आसपास कायम भएको छ।
बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ऋणात्मक १२.४५ रुपैयाँ देखिएको छ। तर प्रतिशेयर आम्दानी (EPS) १७.७६ रुपैयाँ पुगेको छ। बैंकको मूल्य–आम्दानी अनुपात १३.५७ र प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ।
हाल खराब कर्जा ५.३४% पुगेको छ भने चुक्ता पूँजी १४ अर्ब ६९ करोड रहेको छ। बैंकले ३ खर्ब ६५ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब कर्जा प्रवाह गरेको छ।