ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्न सकिने

66 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🖥️ किओस्कबाटै खाता खोल्न सकिने - शाखा कार्यालयमै रहेको किओस्क मेसिन प्रयोग गरी स्वयं बैंक खाता खोल्ने सुविधा।
  • 🎉 १९औँ वार्षिकोत्सवको अवसर - डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ सेवा सुरु।
  • 📍 हाल कमलादीमा मात्र उपलब्ध - बैंकको डिजिटल युनिभर्समार्फत सेवा सञ्चालन।
  • 🌐 डिजिटल सेवा विस्तारको योजना - भविष्यमा अन्य स्थानमा पनि किओस्क सेवा विस्तार गरिने।
  • 🏦 देशभर बलियो सञ्जाल - ७७ जिल्लामा शाखा सञ्जाल र १,००० भन्दा बढी सेवा केन्द्र।
  • काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सरल, सहज र अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यसहित शाखा कार्यालयमै रहेको किओस्क मेसिनबाट स्वयं बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ।

    बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको हो। हाल ग्राहकहरूले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिन प्रयोग गरी सजिलै बैंक खाता खोल्न सक्नेछन्।

    किओस्क मेसिनमार्फत खाता खोल्दा ग्राहकले आवश्यक सम्पूर्ण विवरण आफैं प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि आवश्यक कागजातहरू अपलोड गरेपछि खाता नम्बर तत्काल उपलब्ध गराइने व्यवस्था गरिएको बैंकले जनाएको छ। हालका लागि यो सेवा कमलादीस्थित डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ।

    यसअघि पनि बैंकले सोही डिजिटल युनिभर्समार्फत क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवा मेसिनमार्फत सञ्चालन गर्दै आएको थियो। बैंकले भविष्यमा यस्ता डिजिटल सेवालाई देशका अन्य स्थानमा पनि विस्तार गर्दै लैजाने योजना बनाएको छ।

    ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।

    ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालय गरी १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।

    त्यसैगरी, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपाली नागरिकलाई विश्वभरबाट आर्थिक सेवा प्रदान गर्दै आएको छ।