काठमाडौं। करिब एक दशक लामो प्रतीक्षापछि नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। साउदी अरबको राजधानी रियादमा सम्पन्न सम्झौताले नेपाली साधारण श्रमिकका लागि सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीको आधार तयार गर्ने विश्वास गरिएको छ।
साधारण श्रमिकको भर्ती प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित गरिएको उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि भएको छलफलमा मन्त्री भण्डारीले यसले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई संस्थागत, दीर्घकालीन र विश्वासयोग्य बनाउने बताए। उनका अनुसार सम्झौताले नेपाली श्रमिकको भर्ती प्रक्रियालाई न्यायोचित, पारदर्शी र लागत–प्रभावकारी बनाउनेछ।
साथै साउदी अरबमा कार्यरत नेपाली श्रमिकको हकहित संरक्षण, रोजगार सुरक्षा र कामको मर्यादा सुनिश्चित गर्न यो सम्झौता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। लामो समयदेखि अल्झिएको श्रम सम्झौता टुंगिनु वैदेशिक रोजगारी क्षेत्रका लागि सकारात्मक सन्देश भएको सरकारको भनाइ छ।