नारायणी आयल रिफाइनरीको व्यापारमा उछाल, एक वर्षमै १० अर्ब २१ करोडको कारोबार

80 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 💰 सन् २०२५ को कुल कारोबार : १० अर्ब २१ करोड रुपैयाँ
  • 📈 व्यापार वृद्धि : १२३ प्रतिशत
  • 🏦 कुल कर्जा सीमा : ५ अर्ब १७ करोड रुपैयाँ
  • 📊 सञ्चालन मुनाफा : ७.७१%, खुद नाफा : ५.२९%
  • 🌍 निर्यात निर्भरता : ६७% भारत बजार

काठमाडौँ । नारायणी आयल रिफाइनरी उद्योग प्रालिको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। बारा जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको कम्पनीले सन् २०२५ मा १० अर्ब २१ करोड ४० लाख रुपैयाँ बराबरको खाद्य तेल कारोबार गरेको छ।

केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको क्रेडिट रेटिङ प्रतिवेदनअनुसार कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा १२३ प्रतिशतले वृद्धि भएको छ। सन् २०२३ मा ६ अर्ब ४१ करोड १० लाख रुपैयाँ कारोबार गरेको कम्पनीले सन् २०२४ मा ४ अर्ब ५८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो।

खाद्य तेल अत्यावश्यक वस्तु भएकाले स्थिर आन्तरिक माग तथा भारतीय बजारमा निर्यातको अवसरले कम्पनीको व्यापार वृद्धिमा सहयोग पुगेको केयर रेटिङ्सले जनाएको छ। बैंक तथा वित्तीय संस्थाबाट कर्जा सुविधा लिन कम्पनीले गराएको क्रेडिट रेटिङअनुसार कुल ५ अर्ब १७ करोड ४० लाख रुपैयाँको कर्जा सीमा निर्धारण गरिएको छ।

कम्पनीले लिएको १ अर्ब ६५ करोड रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘केयर–एनपी बीबी प्लस’ र ३ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको अल्पकालीन ऋणका लागि ‘केयर–एनपी ए फोर प्लस’ रेटिङ प्रदान गरिएको छ।

सन् १९८९ देखि सञ्चालनमा रहेको नारायणी आयल रिफाइनरी नेपालका पुराना र स्थापित खाद्य तेल उद्योगमध्ये एक हो। ‘चचान ग्रुप’द्वारा प्रवर्द्धित कम्पनीको नेतृत्व निर्देशक निखिल चचानले गरिरहेका छन्। कम्पनीले ‘त्रिशक्ति’, ‘स्माइल’ र ‘आरोग्य’ ब्रान्डअन्तर्गत सोयाबिन, पामोलिन र सूर्यमुखी तेल उत्पादन तथा बिक्री गर्दै आएको छ।

अन्तर्राष्ट्रिय कच्चा पदार्थको मूल्य र सरकारी नीतिबाट प्रभावित हुने यस उद्योगको सञ्चालन मुनाफा ७.७१ प्रतिशत र खुद नाफा ५.२९ प्रतिशत रहेको छ। सन् २०२५ मा कम्पनीको ऋण सेवा क्षमताको अनुपात ३.९० गुणा पुगेको छ, जसले वित्तीय अवस्था सुधार हुँदै गएको संकेत गर्छ।

यद्यपि, उद्योग ‘वर्किङ क्यापिटल इन्टेन्सिभ’ भएकाले कच्चा पदार्थ आयातका क्रममा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्दा विदेशी मुद्रा उतारचढावले जोखिम बढाउने देखिन्छ। साथै, कुल आम्दानीको करिब ६७ प्रतिशत भारततर्फको निर्यातमा निर्भर रहेकाले भारतीय भन्सार तथा व्यापार नीतिमा हुने परिवर्तनलाई चुनौतीका रूपमा लिइएको छ।