काठमाडौं। कृषि क्षेत्रमा कर्जा लगानीको नेतृत्वदायी बैंकका रूपमा स्थापित कृषि विकास बैंक लिमिटेड ले आफ्नो ५९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ। समयक्रमसँगै बैंकिङ क्षेत्रमा आएका तीव्र परिवर्तनलाई आत्मसात गर्दै बैंकले व्यावसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्रविधिगत प्रणालीमा उल्लेखनीय सुधार गर्दै आफूलाई प्रतिस्पर्धी वाणिज्य बैंकका रूपमा स्थापित गर्दै आएको जनाएको छ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै बैंकका अध्यक्ष डिमप्रकाश पौडेल ले आधुनिक बैंकिङ प्रणाली, नयाँ प्रविधि र प्रभावकारी प्रशासनिक अभ्यासलाई आत्मसात नगरी बैंकिङ क्षेत्रमा अघि बढ्न कठिन हुने बताए। हिजो र आजको बैंकिङ प्रणालीबीच ठूलो अन्तर आएको उल्लेख गर्दै उनले कृषि विकास बैंकले समयअनुसार आफूलाई रूपान्तरण गर्दै ती परिवर्तनहरूलाई धेरै हदसम्म अंगालेको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ ले कृषि कर्जालाई बैंकको पहिलो प्राथमिकतामा राखिएको जानकारी दिँदै ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिइएको बताए। आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
उनका अनुसार बैंकिङ सेवालाई चुस्त, दुरुस्त तथा ग्राहक–केन्द्रित बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८१/८२ देखि २०८४/८५ सम्म लागू हुने पाँच वर्षे रणनीतिक व्यावसायिक योजना कार्यान्वयनमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशिकाको पूर्ण पालना गर्दै आर्थिक अनुशासन कायम गरिएको उल्लेख गर्दै उनले बैंकले डिजिटलाइजेसनलाई केन्द्रमा राखेर विभिन्न डिजिटल सेवा विस्तार गरिरहेको जानकारी दिए।
वार्षिकोत्सवकै अवसरमा बैंकले साना किसानलाई लक्षित गरी विकास गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर को शुभारम्भ गरेको छ भने केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्र समेत औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
हाल बैंकको शेयर संरचनामा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहेको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा नै लगानी गरिएको छ। आर्थिक सूचकाङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा बैंकको कूल निक्षेप २०.३१ प्रतिशतले वृद्धि भई २ खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ८.४० प्रतिशतले बढेर २ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ३.४४ प्रतिशत र खुद नाफा ३ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो।
त्यसैगरी चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास सम्म आइपुग्दा बैंकको कूल निक्षेप ३ खर्ब २४ अर्ब ९७ करोड रुपैयाँ र कूल कर्जा प्रवाह २ खर्ब ३० अर्ब २७ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। सो अवधिसम्म बैंकको निष्क्रिय कर्जा अनुपात कूल कर्जा लगानीको ४.५२ प्रतिशत रहेको छ।