नुवाकोटबाट एमाले केन्द्रीय समितिमा को–को छन् दाबेदार ? सदस्यमा केशव पाण्डे र बद्री मैनालीको सशक्त दाबी

237 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • नुवाकोटका एमाले नेताहरूबीच ११औँ महाधिवेशनअघि पद–प्रतिस्पर्धा तीव्र।
  • उप–महासचिव विष्णु रिमाल पुनः सोही पदमा दाबी गर्ने सम्भावना।
  • केन्द्रीय सदस्यमा मुख्य दाबेदार—केशवराज पाण्डे र बद्री मैनाली।
  • बिन्दा ढुंगानाले उठ्ने चाहना देखाए पनि निर्णय अनिश्चित।
  • इतर समूहबाट बिन्दा पाण्डे, उषा किरण तिमल्सिना र नारायण खतिवडाले पनि उम्मेदवारी तयारी।

नुवाकोट । २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुन गइरहेको नेकपा (एमाले) को ११औँ महाधिवेशनलाई लक्षित गर्दै नुवाकोटका नेताहरूबीच केन्द्रीय कमिटी सदस्यतासहित विभिन्न पदमा उम्मेदवारीको चहलपहल बढेको छ। अहिले केन्द्रीय समितिमा उप–महासचिव रहेका विष्णु रिमाल फेरि पनि सोही पदमा दोहोरिने चर्चा छ। नेतृत्वले जो–जहाँ मिलाएर लैजान्छ, त्यहीअनुसार अघि बढ्ने सोच भएको कारण उनले अझै औपचारिक रूपमा पद घोषणा गरेका छैनन्।

यसपटक केन्द्रीय सदस्यमा नुवाकोटबाट बलियो दाबी गरेका मुख्य दुई नेता हुन्—नुवाकोट जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य केशवराज पाण्डे र नुवाकोट जिल्ला अध्यक्ष बद्री मैनाली। दुवैले केन्द्रीय सदस्यको प्रतिस्पर्धा गर्ने तयारी अन्तिम चरणमा पुर्‍याइसकेका छन्। बागमती प्रदेशका पूर्वअध्यक्षसमेत रहेका पाण्डेले खुला केन्द्रीय सदस्यमा उठ्ने तयारी पूरा गरेका छन् भने मैनालीले बागमती भूगोल​तर्फ उम्मेदवारी दिने प्रारम्भिक तयारी गरेका छन्। पाण्डे बागमती सरकारका पूर्व मन्त्री हुन् भने मैनाली पूर्व राज्यमन्त्री। नुवाकोटको राजनीतिक पृष्ठभूमिमा उनीहरूको प्रभाव लामो समयदेखि उल्लेख्य मानिँदै आएको छ।

नुवाकोटबाट केन्द्रीय सदस्य रहेकी बिन्दा ढुंगानाले पनि यसपटक फेरि उठ्ने इच्छा राखेकी छन्। तर संस्थापन पक्षबाट आवश्यक संकेत नपाएकाले उनले उम्मेदवारी दिने कि नदिने भन्ने टुंगो भएको छैन। उप–महासचिव रिमालसहित पाण्डे, मैनाली र ढुंगाना सबैजना संस्थापन पक्षमै परेका नेताहरू हुन्।

f268394a-bb1e-4bbb-a9a7-0f5bca9d0182.jpeg

यता इतर समूहले छुट्टै प्यानल बनाएर निर्वाचनमा जाने अवस्था आयो भने केन्द्रीय समितिमा रहेकी बिन्दा पाण्डेले ‘सचिव’ पदमा उठ्ने तयारी गरेको बताइएको छ। नुवाकोटबाट केन्द्रीय सदस्य रहेकी उषा किरण तिमल्सिनाले पनि इतर समूहतर्फबाट उम्मेदवारी दिन सक्ने संकेत देखिएकाछन्। नुवाकोटका पूर्व अध्यक्ष तथा पूर्वसांसद नारायण प्रसाद खतिवडाले पनि त्यही समूहबाट केन्द्रीय सदस्यमा उठ्ने सम्भावना बढिरहेको छ।

नुवाकोटबाट महाधिवेशनमा १५ जना प्रतिनिधि, ५ जना आयोजक र जनसंगठनतर्फबाट १ जना गरी जम्मा २१ जना प्रतिनिधि रहनेछन्। तीमध्ये १५ जना संस्थापन पक्षमा रहेका छन् भने ६ जना इतर समूहतर्फका हुन्। महाधिवेशन नजिकिँदै जाँदा नुवाकोटका नेताहरूबीच पार्टी संरचनामा प्रभाव जमाउने प्रतिस्पर्धा झनै तीव्र बन्दै गएको देखिन्छ।