बिचौलिया दीपक भट्टलाई सरकारको बम्पर उपहार : एक्सचेञ्जदेखि हतियार खरिदसम्म चलखेल

295 Shares

काठमाडौं । बिचौलिया दीपक भट्टले सरकार र राज्य संयन्त्र कसरी दोहन गर्छन् भन्ने पछिल्लो उदाहरण बनेको छ — प्रहरीका लागि हतियार खरिद र हिमालयन स्टक एक्सचेञ्ज।

भट्टकै इन्फिनिटी होल्डिङ्सको सर्वाधिक लगानी रहेको हिमालयन स्टक एक्सचेञ्जलाई लाइसेन्स दिलाउन उनी सक्रिय छन्। मुलुकको सानो अर्थतन्त्रका लागि नेपाल स्टक एक्सचेञ्ज नै पर्याप्त हुँदाहुँदै भट्टले नयाँ एक्सचेञ्ज अघि सारेका हुन्।

उक्त एक्सचेञ्ज भट्टकै नियन्त्रणमा ल्याउन अनेक राजनीतिक र प्रशासनिक चलखेल भएको खुलासा भएको छ। भट्ट नजिकका सन्तोषनारायण श्रेष्ठलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष बनाउन सफल भइसकेका छन्। सेबोनको नेतृत्व परिवर्तन भएसँगै भट्टको हिमालयन स्टक, नेशनल स्टक र अन्नपूर्ण स्टकले नयाँ स्टक एक्सचेञ्जको लागि निवेदन दिइसकेका छन्।

भट्टकै डिजाइनमा सरकारले गठन गरेको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज अनिवार्य भएको ठहर गर्दै प्रतिवेदन समेत बुझाइसकेको छ। यसबाट उनीहरूलाई प्रत्यक्ष लाभ हुने आँकलन गरिएको छ।

यतिमात्र होइन, प्रहरीका लागि १ अर्ब रुपैयाँ बराबरको हतियार खरिद प्रक्रियामा पनि भट्टको सेटिङ मिलेको आरोप लाग्दै आएको छ। सुरक्षासम्बन्धी यति ठूलो कारोबारमा बिचौलियाको प्रभाव देखिनु राज्य संयन्त्रको कमजोर पक्ष मानिएको छ।