दाङ । लुम्बिनी सरकारले ल्याएको बजेट विवादमा परेपछि सत्तारूढ दलभित्रै असन्तुष्टि चुलिएको छ। सत्ता साझेदार नेपाली कांग्रेसले औपचारिक विज्ञप्ति जारी गरेर बजेटको विरोध जनाएका छन् भने नेकपा एमालेका सांसदहरू पनि तीव्र असन्तुष्ट देखिएका छन्।
प्रदेश सांसद एवं एमाले नेता विष्णु पंथीले सामाजिक सञ्जालमार्फत बजेट निर्माण प्रक्रिया र त्यसको परिणामप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्।
सांसद पंथीले लेखेका छन्, “बजेट निर्माण गर्दा स्थानीय सरकार, मातहत कार्यालय र प्रदेशसभा सदस्यको सक्रिय भूमिका हुनुपर्छ भन्ने कुरा मैले ‘सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गर्ने क्रममा संसद्मै भनेको थिएँ। तर बजेट बनाउन उल्टो प्रक्रिया अपनाइयो। केही मन्त्रालयको बजेट मन्त्री तथा उनीहरूको नातावाद समूहले सचिव र कर्मचारीलाई नै सहभागी नगराई मन्त्रालय बाहिर बसेर तयार पारे, जसको परिणाम अत्यन्त बेथितिपूर्ण बजेट बनेर आएको छ।”
उनका अनुसार यसपटकको बजेटले अधुरा आयोजना झन् अलपत्र पर्ने खतरा देखिएको छ। बजेटमा करिब ६०–७० प्रतिशत व्यक्तिगत स्वार्थका महत्वहीन नयाँ कार्यक्रमहरू समावेश भएको उनको आरोप छ।
सांसद पंथीले जिल्लागत र निर्वाचन क्षेत्रगत बजेट विनियोजनमा पनि असमानता देखिएको दाबी गरे। उनले लेखेका छन्, “धेरै मन्त्रीहरूले प्रदेशको जिम्मेवारी १२ जिल्ला र ५२ क्षेत्रको प्रतिनिधित्व हो भन्ने कुरा नबुझ्दा जिल्लागत र क्षेत्रगत असमानता देखिएको छ।”
अहिले कतिपयले ‘फलानोले बजेट पारिदियो’ भनेर धन्यवाद दिन थालेको उल्लेख गर्दै उनले यस्तो संस्कृति बन्द हुनुपर्ने बताए। अर्थ मन्त्रालय आफैँ बेथितिमा संलग्न हुने र कर्मचारीदेखि टाइप गर्नेसम्मले बजेट राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने सांसद पंथीको भनाइ छ।
उनले प्रदेशको ढुकुटीको संरक्षण र जनहितका लागि बजेटको सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।