काठमाडौं । पछिल्लो ११ महिनामा नेपालमा १३ हजारभन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ महिनासम्मको तथ्याङ्कअनुसार यो अवधिमा ३१ अर्ब ५५ करोड १५ लाख रुपैयाँ बराबरका ईभी नेपाल भित्रिएका हुन्।
नेपालमा भित्रिने ईभीमा कार, जिप र भ्यान पर्छन्। समीक्षा अवधिमा नेपालले १३ हजार ४९२ युनिट ईभी आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६७ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सो अवधिमा ११ हजार ४६६ युनिट ईभी भित्रिएका थिए।
नेपालमा चीन, भारत, कोरिया, जर्मनी, अमेरिका, इन्डोनेसिया लगायतका मुलुकबाट विभिन्न क्षमताका ईभी भित्रिरहेका छन्। यी सवारीसाधन ५० किलोवाटदेखि ३०० किलोवाटसम्मका छन्।
चीनबाट सबैभन्दा धेरै ईभी आयात
कुल आयातमध्ये चीनको हिस्साले सबैभन्दा बढी स्थान ओगटेको छ। ११ महिनामा चीनबाट १० हजार २०३ युनिट ईभी नेपाल भित्रिएका छन्, जुन कुल आयातको ७५.६३ प्रतिशत हो। भारतबाट ३ हजार १७९ युनिट, मलेशियाबाट ५० युनिट, जर्मनीबाट ३६ युनिट, अमेरिका र कोरियाबाट ६–६ युनिट र इन्डोनेसियाबाट ४ युनिट ईभी भित्रिएका छन्।
क्षमताका आधारमा ईभी आयात विवरण
५१ देखि १०० किलोवाट क्षमताका ईभीको हिस्सा सबैभन्दा धेरै छ। यस क्षमताका ७ हजार ३५८ युनिट नेपाल भित्रिएका छन्, जुन कुल आयातको ५४.५३ प्रतिशत हो।
त्यसैगरी, ५० किलोवाट क्षमताका ४ हजार ७३७ युनिट (३५.११ प्रतिशत), १०१ देखि २०० किलोवाट क्षमताका १ हजार ३५४ युनिट र २०१ देखि ३०० किलोवाट क्षमताका ४३ युनिट ईभी नेपाल भित्रिएका छन्।
बीवाईडी, टाटा, एमजी, नेटा, हुन्डाईजस्ता ब्रान्डका विद्युतीय गाडी नेपाली सडकमा तीव्र गतिमा देखिन थालेका छन्।